
सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन्। उनले २०७४ सालमा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए। घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् ।
गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती शुरु गरिएको थियो। सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले जानकारी दिए।
‘फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु। अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ। त्यही भएकाले आय स्थिर हुन्छ’, व्यवसायी गुरुङले भने। उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ। वार्षिक रूपमा रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए। पहिले प्रतिबोट २०० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार ५० देखि ७० मा बिक्री हुने गरेको उनले बताए। ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो ४०० र होलसेलमा ३५० रुपैयाँमा बिक्री हुने गरेको छ।
फार्ममा मासिक रु १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक ७०० ज्यालादरमा १० भन्दा बढी कामदारले काम पाइरहेका छन्। फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ। गुरुङले भने, ‘फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतबापत वार्षिक करिब आठ लाख रुपैयाँ खर्च हुने गरेको छ। गत वर्ष २२ मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ।’ उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको उनले बताए।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?