काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको संरचना परिवर्तन भएको छ । सरकारले केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत बीमा ऐन,२०७९ लाई संशोधन गर्दै सञ्चालक समिति सदस्य संख्या थप गरेको हो ।
संशोधन सँगै प्राधिकरणको सञ्चालक समितिमा भौतिक पूर्वाधार मन्त्रालय हेर्ने प्राविधिक सहसचिव पनि रहने व्यवस्था गरिएको छ । यो सँगै अब सञ्चालक समितिको संख्या ६ जना पुगेको छ । यस अघि सञ्चालक समिति सदस्य संख्या ५ जनाको थियो ।
यस अघि, सरकारको नियुक्तिबाट एक जना अध्यक्ष, अर्थ मन्त्रालयका एक जना सहसचिव, कानून मन्त्रालयका एक जना सहसचिव, एक जना जीवन बीमाका विज्ञ र एक जना निर्जीवन बीमाका विज्ञ रहने व्यवस्था थियो । अब, भने एक जना भौतिक पूर्वाधार मन्त्रालय हेर्ने प्राविधिक सहसचिव पनि समितिमा रहने छन् ।
यस्तै, अध्यादेशमार्फत सञ्चालक समितिको अध्यक्ष तथा सदस्य बन्नका लागि इन्जिनियरिङ विषयमा स्नातकोत्तर वा सो सरह उपाधि हासिल गरेको व्यक्ति पनि शैक्षिक योग्यतामा योग्य हुने व्यवस्था गरिएको छ । बीमा ऐनको दफा ८ को उपदफा १ को (क) अनुसार प्राधिकरणको अध्यक्ष वा सदस्य बन्न बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको शैक्षिक योग्यता आवश्यक पर्थ्यो । अब भने ईन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको व्यक्तिलाई पनि शैक्षिक योग्यता पुगेको मानिने छ ।