रानीको आँसु पुछ्न बनेको पोखरी, आज दिदीबहिनी–दाजुभाई नहुनेको मिलनस्थल !

काठमाडौंको मुटुमा रहेको ऐतिहासिक रानीपोखरी तिहारको भाइटीकाका दिन एउटा अनौठो आत्मीयताको केन्द्र बन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूका लागि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर साझा परिवारजस्तै बनेको छ । त्यसैले भाइटीकाको दिन मात्रै खुल्ने यो मन्दिरमा बिहानैदेखि टीका लगाउनेहरूको घुइँचो लाग्छ ।

यहाँ दिदीबहिनी नहुने दाजुभाइले मन्दिरमा पूजा गरी टीका र माला ग्रहण गर्छन् भने दाजुभाइ नहुने दिदीबहिनीले पनि भाइटीकाको परम्परा पूरा गर्छन् । एकअर्कालाई नचिनेका अपरिचितहरू पनि यहाँ दाजुभाइ र दिदीबहिनीको आत्मीय सम्बन्धमा जोडिन्छन् ।

तर यो परम्पराको केन्द्र बनेको रानीपोखरीको इतिहास भने एउटा पारिवारिक वियोगसँग जोडिएको छ । नेपालको मध्यकालीन वास्तुकलाको अनुपम नमुना मानिने रानीपोखरी तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएका हुन् । वि.सं. १७२७ अर्थात् सन् १६७० आसपास निर्माण सम्पन्न भएको यो पोखरी सुरुमा ‘न्हुगु पुखु’ अर्थात् नयाँ पोखरीका नामले चिनिन्थ्यो ।

ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको असामयिक निधन भएपछि शोकमा डुबेकी रानी भुवनलक्ष्मीलाई सान्त्वना दिन यो पोखरी निर्माण गरिएको थियो । पोखरीलाई पवित्र बनाउन विभिन्न तीर्थस्थलको जल ल्याएर मिसाइएको जनविश्वास छ । बीचमा यमलेश्वर महादेवको मन्दिर स्थापना गरियो । जुन पछि बालगोपालेश्वर मन्दिरका रूपमा परिचित भयो ।

तर राजपरिवारको शोकसँग जोडिएको यो पोखरी कसरी भाइटीकाको साझा थलो बन्यो भन्ने प्रश्नको ठ्याक्कै ऐतिहासिक प्रमाण छैन । यसको सुरुवातको मिति खुल्ने प्रमाणित अभिलेख भेटिएको छैन । तर नेवार समुदायमा दाजुभाइ वा दिदीबहिनी नहुनेले महादेवको मन्दिरमा गएर टीका लगाउने परम्परासँग जोडिँदै बालगोपालेश्वर मन्दिर भाइटीकाको विशेष केन्द्र बनेको मानिन्छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र मन्दिर पुनर्निर्माणपछि २०७७ सालको भाइटीकादेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको हो ।

कुनै बेला सन्तान गुमाएकी आमाको आँसु पुछ्न बनाइएको रानीपोखरी आज दाजुभाइ र दिदीबहिनीको साथ नपाएकाहरूको मुहारमा खुसी ल्याउने स्थल बनेको छ । रगतको नाता नभए पनि आत्मीयताको नाता जोड्ने रानीपोखरीको भाइटीकाले सम्बन्ध जन्मले मात्रै होइन, माया र अपनत्वले पनि बन्छ भन्ने सन्देश दिइरहेको छ ।

तस्बिर : शंकर भुजेल/नेपाल
फोटो सर्भिस (NPS)
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट