एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात

काठमाडौं । रियल म्याड्रिडले स्पान्योललाई २-१ ले पराजित गर्दै ला लिगामा विजयी सुरुवात गरेको छ। रियलको जितमा डेब्यु खेल खेलिरहेका कार्लोस एस्पी नायक बने। उनले ९०औँ मिनेटमा निर्णायक गोल गरे।

आरसिडिई स्टेडियममा रियलले नवौँ मिनेटमै अग्रता लियो। आर्दा गुलरको फ्रिकिकमा जुड बेलिङ्घमले हेडरमार्फत गोल गरे। तर, स्पान्योलले पहिलो हाफमै खेल बराबरीमा ल्यायो। ३०औँ मिनेटमा जाभी हर्नान्डेजको पासमा कालाले बायाँ खुट्टाले गोल गर्दै खेल १–१ को स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा दुवै टोलीले अग्रताका लागि प्रयास गरे। रियलका फेडेरिको भाल्भेर्देले गरेको प्रहार पोस्टको बाहिरी भागमा लागेर फर्कियो भने बेलिङ्घमको अर्को हेडरलाई स्पान्योलका गोलरक्षक मार्को दिमित्रोभिचले बचाए।

खेल बराबरीतर्फ अघि बढिरहेका बेला किलियन एमबाप्पे स्पान्योलको पेनाल्टी क्षेत्रमा प्रवेश गरे। त्यहाँ भएको भिडन्तपछि छुटेको बलमा एस्पीले दिमित्रोभिचलाई बिट गर्दै खाली पोस्टमा गोल गरे। उनको गोलसँगै रियलले अन्तिम समयमा महत्वपूर्ण ३”अंक सुरक्षित गर्‍यो।

गत महिना लेभान्तेबाट २५ मिलियन युरोमा रियल आएका २१ वर्षीय एस्पीले डेब्यु खेलमै आफूलाई प्रमाणित गरे। उनले गत सिजन लेभान्तेका लागि ला लिगामा ११ गोल गरेका थिए। योसँगै जोसे मौरिन्होको दोस्रो कार्यालयको सुरुवात जितबाट भएको छ। उनको स्पान्योलविरुद्ध ला लिगामा ७ खेलमा पाँचौँ जित निकालेका छन्। अब रियलले बुधबार रियल सोसिडाडसँग खेल्नेछ।

यसअघि सेभियाले एथलेटिक क्लबलाई ३-१ ले र रियल बेटिसले रियल सोसिडाडमाथि १-० को जित निकालेको छ। भ्यालेन्सिया र सेल्टा भिगोबीचको खेल गोलरहित बराबरीमा सकियो।

फेसबुक प्रतिक्रिया