
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवा थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले मंगलबारदेखि नयाँ पोर्टलको परीक्षण सुरु गरेको हो। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत् सञ्चालनमा रहनेछ।
विभागका अनुसार नयाँ पोर्टल ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ र ‘माइक्रो सर्भिस आर्किटेक्चर’मा आधारित भएर विकास गरिएको हो। नयाँ पोर्टल सञ्चालनमा आएपछि करदाताले विभिन्न सेवा अनलाइनबाटै लिन सक्नेछन्। अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण अब करदाता आफैँले रुजु गर्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै, आय विवरण अन्तर्गत अनुसूची १० मा करदाताले विवरण भर्नुपर्ने साविकको व्यवस्थालाई परिमार्जन गरी उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको छ।
स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था पनि नयाँ पोर्टलमा समावेश गरिएको छ। विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन्।
करदाताले स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र पोर्टलमा लगइन गरी आफैँ डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, मूल्य अभिवृद्धि कर (भ्याट) विवरण संशोधनसम्बन्धी सेवा पनि पोर्टलमा थप गरिएको विभागले जनाएको छ।
पोर्टल परीक्षणकै क्रममा रहेकाले सुरुवाती चरणमा सामान्य प्राविधिक समस्या आउन सक्ने विभागले जनाएको छ। करदाताको सुविधालाई ध्यानमा राख्दै पोर्टललाई थप सरल बनाउने तथा आवश्यक नयाँ सुविधा थप गर्दै लैजाने महानिर्देशक भुसालले बताएका छन्।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित