ब्रिटिस गोर्खा पहिचान खुलाउन गृह मन्त्रालयमा माग

काठमाडौँ, मङ्सिर। ब्रिटिस गोर्खाहरू तथा उनीहरूका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरताको माग सम्बोधन गर्न ‘ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान’ (BGNCCC)का प्रतिनिधिमण्डलले गृह मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ। मङ्गलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको करिब दुई घण्टा लामो छलफलमा नागरिकता निरन्तरताका संवैधानिक तथा कानुनी आधार, गोर्खाहरूले भोग्दै आएका व्यावहारिक समस्या र त्यसको अल्पकालीन तथा दीर्घकालीन समाधानका विषयमा विस्तृत विचारविमर्श भएको हो।

अभियानका नेपाल संयोजक फुर्वा गर्जा शेर्पाका अनुसार छलफलमा गृह उपसचिव एवं नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी विभाग प्रमुख उमाकान्त अधिकारी, अभियानका कानुनी सल्लाहकार एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (एनएफडीआइएन) का कार्यकारी प्रमुख राम मादेन, अभियान निर्देशक अधिवक्ता योगिता राई, प्रमुख संयोजक (युके–नेपाल) सन्तोष थलङ, प्रमुख सल्लाहकार कृष्णबहादुर राई तथा युके संयोजक लेफ्टिनेन्ट हरिबहादुर गुरुङ सहभागी थिए।

छलफलमा प्रतिनिधिमण्डलका सदस्यहरूले ब्रिटिस गोर्खाहरू र उनीहरूका सन्ततिका लागि वंशजको नेपाली नागरिकता निरन्तरता आवश्यक हुनुका कारण तथा त्यसका संवैधानिक र कानुनी आधारबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। गोर्खाहरूको ऐतिहासिक पृष्ठभूमि, राज्यसँगको सम्बन्ध र नागरिकताको निरन्तरतामा देखिएका कानुनी जटिलताबारे पनि मन्त्रालयका पदाधिकारीलाई जानकारी गराइएको थियो।

प्रतिष्ठानका कार्यकारी प्रमुख राम मादेनले गोर्खाहरूको मागलाई अल्पकालीन र दीर्घकालीन गरी दुई चरणमा सम्बोधन गर्नुपर्ने सुझाव दिए। उनका अनुसार दीर्घकालीन समाधानका लागि संविधान संशोधन आवश्यक छ भने तत्काल देखिएका प्रशासनिक तथा कानुनी झन्झट हटाउन नागरिकता ऐन संशोधनमार्फत अल्पकालीन निकास दिन सकिन्छ।

त्यसैगरी, युके संयोजक लेफ्टिनेन्ट हरिबहादुर गुरुङ र नेपाल संयोजक फुर्वा गर्जा शेर्पाले नागरिकता निरन्तरतासम्बन्धी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था नहुँदा ब्रिटिस गोर्खा र उनीहरूका सन्ततिले भोग्नुपरेका व्यावहारिक कठिनाइहरू उदाहरणसहित प्रस्तुत गरेका थिए।

छलफलका क्रममा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले गोर्खाहरूले वंशजको नेपाली नागरिकता निरन्तरता पाउन सक्ने संवैधानिक तथा कानुनी आधारहरू प्रस्तुत गरे। राज्यले ब्रिटिस गोर्खाहरूलाई सामान्य गैरआवासीय नेपाली (एनआरएन) को श्रेणीमा राखेर हेर्न नहुनेमा जोड दिँदै उनले उनीहरूको विशिष्ट ऐतिहासिक पृष्ठभूमि र अवस्थालाई सम्बोधन गर्ने गरी संविधानमै विशेष व्यवस्था गरिनुपर्ने धारणा राखे।

यसै क्रममा डा. ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता : ब्रिटिस गोर्खाको नागरिकता निरन्तरता’ नामक पुस्तक उहाँले स्वयं गृह उपसचिव उमाकान्त अधिकारीलाई हस्तान्तरण गरेका थिए। पुस्तकमार्फत ब्रिटिस गोर्खाहरूको नागरिकता निरन्तरतासँग सम्बन्धित ऐतिहासिक, संवैधानिक तथा कानुनी पक्षबारे थप अध्ययनका लागि सन्दर्भ सामग्री प्रस्तुत गरिएको हो।

त्यसैगरी, नेपाल संयोजक फुर्वा गर्जा शेर्पाले ६८ पृष्ठका सन्धिसम्बन्धी आधिकारिक दस्तावेजहरू गृह उपसचिव एवं विभाग प्रमुख अधिकारीलाई हस्तान्तरण गरेका थिए। ती दस्तावेजले गोर्खाहरूको ऐतिहासिक पृष्ठभूमि र नागरिकता निरन्तरताको मागसँग सम्बन्धित प्रमाण तथा आधारलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलका धारणा र सुझाव सुनेपछि जवाफ दिँदै उपसचिव अधिकारीले दीर्घकालीन समाधानका लागि संविधान संशोधनको विकल्प नरहेको स्वीकार गर्दै यस विषयमा विभागका तर्फबाट रचनात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको शेर्पाले जानकारी दिए।

अल्पकालीन समाधानका विषयमा अधिकारीले सरकारले चाँडै विशेष प्रकारको परिचयपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए। गैरआवासीय नेपाली नागरिकता नलिएका तथा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेका डायस्पोरामा रहेका नेपालीहरूलाई लक्षित गरी ल्याउन लागिएको उक्त परिचयपत्रले राजनीतिक अधिकारबाहेक अन्य सेवा तथा सुविधा उपभोग गर्ने बाटो खोल्ने उनको भनाइ थियो।

तर, मन्त्रालयले प्रस्ताव गरेको विशेष परिचयपत्रबारे प्रतिनिधिमण्डलले आफ्नो स्पष्ट धारणा राखेको थियो। अल्पकालीन समाधानका रूपमा परिचयपत्र जारी गरिने भए त्यसमा स्पष्ट रूपमा ‘ब्रिटिस गोर्खा’ भन्ने पहिचान उल्लेख हुनुपर्ने माग प्रतिनिधिमण्डलले गरेको छ।

प्रतिनिधिमण्डलका अनुसार परिचयपत्रमा ब्रिटिस गोर्खाको विशिष्ट पहिचान स्पष्ट रूपमा स्थापित भएमा त्यसले उनीहरूको ऐतिहासिक र कानुनी हैसियतलाई राज्यबाट औपचारिक मान्यता दिलाउन सहयोग गर्नेछ। साथै, भविष्यमा संविधान संशोधनमार्फत नागरिकता निरन्तरताको दीर्घकालीन समाधान खोज्न पनि यसले बलियो आधार तयार गर्ने अभियानको निष्कर्ष छ।

शेर्पाकनुसार ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले वंशजको नागरिकता निरन्तरताको मागलाई केवल प्रशासनिक सुविधाको विषय नभई ऐतिहासिक सम्बन्ध, संवैधानिक अधिकार र गोर्खाहरूको पहिचानसँग जोडिएको विषयका रूपमा उठाउँदै आएको छ। गृह मन्त्रालयसँगको पछिल्लो छलफललाई यसै मागलाई संस्थागत रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको पनि व्यक्त गरे ।


फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट