लुम्बिनी घुम्न अब साइकल यात्रा, गाउँ–गाउँ पुग्ने तीन नयाँ रुट

बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकले मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनु पर्ने छैन । लुम्बिनीको ग्रामीण जीवन, संस्कृति, सम्पदा, खेतबारी र स्थानीय बस्तीको अनुभव दिलाउने उद्देश्यले तीनवटा नयाँ साइकल मार्ग विकास गरिएको छ ।

लुम्बिनी होटल संघ नेपाल र पर्यटन क्षेत्रका सरोकारवालाको पहलमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट विकसित यी साइकल मार्गले पर्यटकलाई फरक–फरक ग्रामीण अनुभव प्रदान गर्नेछन् । । र, तीनवटै मार्गको नाम मैत्री, प्रज्ञा र करुणा राखिएको छ ।

आठ किलोमिटर लामो मैत्री मार्ग साइकल यात्रामा नयाँ पर्यटकका लागि सहज मानिन्छ । दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यो मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन, ग्रामीण बस्ती र स्थानीय हस्तकला केन्द्र अवलोकन गर्न सकिन्छ ।

त्यस्तै १६ किलोमिटर लामो प्रज्ञा मार्ग पूरा गर्न चारदेखि पाँच घण्टा लाग्छ । यसमा नदी किनारका गाउँ, कुम्हार बस्ती, स्थानीय बजार, झोलुंगे पुल तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । २४ किलोमिटर लामो करुणा मार्ग भने सातदेखि आठ घण्टाको यात्रा हो । यसले पर्यटकलाई पुराना गाउँ, आश्रम, नदी आसपासका बस्ती, खेतीपाती र ऐतिहासिक स्थलसम्म पु¥याउँछ ।

यी साइकल मार्गले लुम्बिनीको पर्यटनलाई धार्मिक दर्शनसँगै प्रकृति, संस्कृति र ग्रामीण जीवनसँग जोड्ने विश्वास गरिएको छ । पर्यटकको बसाइ लम्बिने र स्थानीय होटल, होमस्टे, किसान, हस्तकला तथा साना व्यवसायले लाभ पाउने विश्वास छ । तर यो अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक देखिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट